भक्तपुर – नेपालमा विनाशकारी भूकम्प गएको आज तीन वर्ष पुरा भएको छ । तीन वर्षसम्म धेरै पीडितहरु त्रिपाल र टहरो भित्रै बस्न बाध्य छन् । जाडो, तातो, पानी, हुरी बतास सहँदै तीन वर्ष बिताएका पीडितलाई अब कति वर्ष यसरी नै बस्नुपर्ने हो पत्तो छैन ।

भक्तपुर नगरपालिका वडानम्बर ७ इनाचोंकी दिलदेबी डुमरुले भूकम्प गएको एक वर्षपछि नै घर बनाउने अठोट गरिन् । तर, उनले र परिवार सदस्यले चाहेर मात्र घर निमार्ण हुन सकेन । उनीहरुको भत्किएको घर विश्वसम्पदा सूचीभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लाग्यो ।
‘नगरपालिकाले मात्र नक्सा पास गरेर नहुने रहेछ, अन्त जादाँ धेरै समय लाग्यो ।’

विश्व सम्पदा सुचिमा भक्तपुर नगरभित्रका केही क्षेत्र पर्ने हुदाँ पीडितलाई नक्सा पास गर्न लामो समय लागेको बताइएको छ । ‘आवश्यक प्रकिया पुरा गर्दापनि कर्मचारीले यो भएन र त्यो भएन भन्दै १८ महिना लगाए अहिले बल्ल नक्सा निस्कियो’ दिलदेबीले भनिन् ।

वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ ।
अर्की भुकम्प पीडित लक्ष्मी केशरी सुवालको समस्या पनि कम छैन । उनले सरकारले पूर्ननिमार्णको मिति तोक्दा श्रमिकको ज्याला र निमार्ण सामाग्रीको मुल्य बढ्दा समस्या भएको बताइन् ।

रडमा किलोको २० रुपैयाँ, सिमेन्टमा ४ सय, बालुवा– गिट्टीमा टिपको ५ हजारसम्म वृद्धि भयो कसरी सरकारले भने जस्तो घर बनाउन सकिन्छ ? दिपेश डुमरुको प्रश्न छ । यता भूकम्प गएको तीन वर्ष वित्दा पनि भक्तपुरका धेरैले घरको भग्नावशेष हटाउन नै सकिरहेका छैनन् । कतिपयले भुकम्पले हल्लाएकै घरहरुमा टेको लगाएर बसिरहेका छन् ।

भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ ।

भक्तपुरमा निजी आवासमात्रै होइन, पुरात्वतिक महत्वका मन्दिर, शतल, पाटी, देवालय लगायत अन्य संरचनाको पूर्ननिर्माणले पनि गति लिन सकिरहेको छैन ।

निजी आवास निर्माणले गति लिएन 
भक्तपुर जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ छ ।

जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवराम गेलालले जानकारी दिए ।

पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको छ । जिल्लामा आवास निमार्ण सम्पन्न गरेर भूकम्प पीडितलाई सरकारले दिएको अन्तिम तेस्रो किस्ता लिनेको संख्या १ हजार ६६ मात्र रहेको कार्यालय प्रमुख गेलालले बताए ।

यसरी हेर्दा भक्तपुरमा पहिलो किस्ता लिएका २२ हजार ७ सय ९२ लाभग्राहीमध्ये तेस्रो किस्ता लिने १ हजार ६६ मात्र भएकाले २१ हजार ७ सय ६६ लाभग्राही बीचमै हराएका छन् ।

भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिकामध्ये सबैभन्दा धेरै लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ६ सय ४७ जना छन् ।

उक्त नगरपालिकामा ८ हजार ९ सय ९७ पहिलो, ६ सय ७२ दोस्रो र ४ ८९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।  भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसकको कार्यालयले जनाएको छ ।

साभार: रातोपटी (हेमराज ढकाल)