चलनचल्तीको लोकबोली हो, ‘घाँटी हेरेर हाड निल्ने ।’ हुन पनि, आय र व्ययको तालमेल मिलाउन सकिएन भने करोडपतिबाट रोडपति हुन बेर लाग्दैन । सामाजिक प्रतिष्ठा पनि गुम्छ । सायद आय र व्ययको यही अनुपात मिलाउन नसक्दा नेपाली सुगम संगीतका  ‘मेलोडी किङ’ मानिने गायक रामकृष्ण ढकाल ठूलो आर्थिक विवादमा फसेका छन् ।

कमजोर पारिवारिक पृष्ठभूमिबाट आएका ढकाल आफ्नो स्वरकै कारण मनग्य नाम र दाम कमाउन सफल भए ।

कुनै बेला सबैभन्दा धेरै कमाउने कलाकारको अग्रपंक्तिमा पर्ने ढकालले घर किन्न एक सहकारीसँग लिएको ऋण समयमै चुक्ता गर्न नसक्दा आफू  र जमानी बस्ने श्रीमती नीलम शाहको तीनपुस्ते विवरण र फोटोसहितको सूचना पत्रिकामा तीनपटक प्रकाशित भयो । पछिल्लोपटक ललितपुर-३, पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५ जेठमा एक राष्ट्रिय दैनिकमा ऋण चुक्ता गर्न १५ दिने हदम्याद दिँदै उनका नाममा लिलामी सूचना प्रकाशित गर्‍यो ।

Ramkrishna Dhakal 2 - tirkha.comयसअघि ११ साउन र २ माघ ०७० मा लिलामी सूचना प्रकाशित भएको थियो । यसो हुँदा एकातिर उनी आर्थिक रूपमा निकै कमजोर रहेको हल्ला चल्न थालेको छ भने अर्कोतिर  स्वाभाविक रूपमा उनीप्रतिको आमदृष्टिकोण नकारात्मक बन्दै गएको छ, फ्यानहरूलाई दुःखी तुल्याएको छ । उनकै शब्दमा भन्दा करबि ३० वर्षे करिअरमा ढकाल सबैभन्दा ठूलो मानसिक तनावमा फसेका छन् ।

तनावको यो गाथाको सुरुआत हुन्छ, ४ फागुन ०६६ बाट । त्यस दिन ढकालले ललितपुर सैबु-८ स्थित नौ आना क्षेत्रफलमा बनेको आलिसान बंगला खरदि गर्न लालीगुराँस सहकारीसँग १ करोड ८० लाख रुपियाँ ऋण लिए ।

पाँच वर्षे समयसीमा र १८ प्रतिशत  ब्याजदरमा सहकारीले घरको मूल्य बराबरकै कर्जा उपलब्ध गराएको थियो । उनले त्यसअघि बूढानीलकण्ठमा बैंकबाट ऋण लिएर घर किनेका थिए । त्यो घर १ करोड ३० लाखमा बेच्ने, त्यसबाट करबि ७० लाख बैंकको ऋण तिर्ने र बाँकी पैसा सहकारीलाई  बुझाएर साँवा घटाउने योजनामा थिए उनी ।

त्यसैले सहकारीसँग महिना दिनभित्र ५० लाख रुपियाँ फिर्ता गर्ने मौखिक सम्झौता गरे । तर, दुर्भाग्य ! त्यही बेला घरजग्गाको कारोबार ओरालो लाग्यो । उनले न समयमै भनेजति मूल्यमा घर बेच्न सके, न  सहकारीको किस्ता बुझाउनै ।

किस्ताको के कुरा, ब्याज पनि तिर्न सकेनन् । सहकारीसँगको सम्बन्ध बिग्रियो । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका अनुसार पहिलो किस्ता स्वरूप पाँच लाख लिन पनि चार महिना कुर्नुपर्‍यो । त्यसयता ढकालले सातपटक गरी ४८ लाख  रुपियाँ मात्र सहकारीलाई बुझाएका छन् ।

साँवा र ब्याज बुझाउन नसकेपछि ढकाल घर किनेको ६ महिनाबाटै आत्तिन थाले । त्यही घर बेचेर भए पनि ऋण तिर्ने ध्याउन्नमा लागे उनी । तर, भनेजति मूल्यमा बिक्री भएन । समयमै ब्याज नबुझाएपछि वित्तीय नियम अनुसार ब्याज पनि साँवामा गाभिँँदै गयो,  जसले ऋणको भार अझ बढ्यो । त्यसैले करबि अढाई वर्षपछि उनले धितो राखेको घर नै छाडे र भैँसेपाटीस्थित विनायक कोलोनीमा बसाइँ सरे । “घर किन्न लिएको ऋण तिर्न पैसा नहुने तर नयाँ घर किन्न र ६-६ महिनामा गाडी फेर्नचाहिँ कहाँबाट पैसा आउँछ ?” सहकारीका निर्देशक भण्डारी भन्छन्, “कतिसम्म भने हामीलाई घर छाडेको जानकारी समेत दिइएन ।”

नियम अनुसार १ करोड ७० लाख मूल्यांकन गरेर सहकारीले ढकालको उक्त घर सकारिसकेको छ । तर, यसले पनि ऋण असुली भएन । पछिल्लो सूचनामा साँवा, ब्याज र अन्य दस्तुर १५ दिनभित्र चुक्ता नगरे सहकारी ऐन, २०४८, सहकारी नियमावली, २०४९  र संस्थाको ऋण लगानी र असुलीसम्बन्धी विनियमावली अनुसार ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिको चल-अचल सम्पत्तिबाट र निजहरूको घरघरानाबाट समेत असुल गरिने चेतावनी दिइएको छ ।

यो सूचना प्रकाशित भएको तीन साता नाघिसकेको  छ तर अझ ढकाल सहकारीको सम्पर्कमा पुगेका छैनन् । त्यसैले सहकारी कानुनी कारबाहीको प्रक्रियामा अगाडि बढेको छ । यति गर्दा पनि ऋण असुली नभए उनलाई कालोसूचीमा राखेर थप कारबाही गर्न अनुरोध गर्दै सहकारीले सहकारी तथा गरबिी निवारण  मन्त्रालयलाई पत्र लेख्नेछ । निर्देशक भण्डारी भन्छन्, “सहकारीको पैसा कुनै अमूक व्यक्तिको होइन, १८ हजार सदस्यको पसिनाको कमाइ हो । त्यसैले हामी जसरी पनि ऋण असुली गर्छौं ।” उनका अनुसार अहिले ढकालले करिब १ करोड ८५ लाख रुपियाँ  बुझाउन बाँकी छ ।

“मेरो मिल्ने साथी र राष्ट्रिय प्रतिभा भएका कारण पनि घरको मूल्य बराबर नै कर्जा उपलब्ध गराएँँ,” भण्डारीको गुनासो छ, “तर, सुरुदेखि नै उहाँको तिर्ने नियत देखिएन । संस्थाको सम्पर्कमा आउन छाडेर शक्तिकेन्द्र धाउनुभयो अनि समस्या जटिल बन्दै  गयो ।”

 मन्त्रीको ढोकामा

ऋण मिनाहा गरिदिन अनुरोध गर्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईदेखि तत्कालीन अर्थमन्त्री वर्षमान पुन र अर्का अर्थमन्त्री शंकर कोइरालाको क्वार्टरसम्म पुगेको ढकाल आफैँ स्वीकार्छन् । उनीजस्ता चर्चित कलाकारले दुःख बिसाएपछि मन्त्रीहरूले  भण्डारीलाई फोन गरेर ‘सकेसम्म मिलाइदिन’ आग्रह गरेका थिए ।

धेरै ठाउँबाट अनुरोध मिसिएको दबाब आउन थालेपछि भण्डारी आजित भए । त्यसैले पुनले फोन गर्दा सीधै भनिदिए, ‘राष्ट्रिय प्रतिभा भएकै कारण त्यति धेरै माया गर्नुपर्ने हो भने अर्थ मन्त्रालयबाटै बजेट पास गरेर ऋण तिरििदए हुन्छ नि! जनताबाट सञ्चालित  सहकारीले कसरी ऋण मिनाहा गर्न मिल्छ ?’ यसो भनेपछि पुन त चुप भए तर ढकालले विभिन्न शक्ति केन्द्र धाउन छाडेनन् । पुनपछिका अर्थमन्त्री कोइरालालाई पनि यसै गरी फोन गर्न लगाए ।

सहकारीसँग छलफल गरेर विवाद सल्टाउनुको साटो शक्ति केन्द्र धाउने ढकालको प्रवृत्तिको धेरैले आलोचना गरेका छन् ।  खास गरी सामाजिक सञ्जालमा ऋण लिएपछि जति ठूलो प्रोफाइल भए पनि तिर्नैपर्ने खालका प्रतिक्रिया धेरै सुनिन्छ । एक पुराना संगीतकर्मीले  त उनको ऋण विवादका कारण आगामी दिनमा अन्य कलाकारलाई वित्तीय संस्थाले ऋण नपत्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 सोखिन र खर्चालु

ऋण विवादकै सन्दर्भमा छुटाउन नहुने अर्को महत्त्वपूर्ण विषय हो, उनको विलासी, सोखिन र अति महत्त्वाकांक्षी स्वभाव । उनका निकटस्थहरूका अनुसार ढकाल र उनको परिवार निकै सोखिन र खर्चालु छ । मोजमस्तीमा पनि पैसा खर्च हुन्छ ।

“पैसाको  बन्दोबस्त नभई त्यति महँगो ब्याजदरमा झन्डै दुई करोड ऋण लिएबाटै उनी कति महत्त्वाकांक्षी र विलासी छन् भन्ने पुष्टि हुन्छ,” ढकालनिकट एक मित्र भन्छन्, “उनलाई आफ्नो लोकप्रियता र कमाइ ओरालो लागेको हेक्का भएन । दैनिक खर्च पनि घटेन ।  त्यसैले ऋणको भार बढ्दै गएको हो ।” आर्थिक व्यवस्थापनमा उनी निकै कच्चा भएको ती मित्रको भनाइ छ । तर, ढकाल यो कुरा स्वीकार्दैनन् ।

त्यसो त ढकालले चाहने हो भने सहकारीसँगको ऋण विवाद तत्काल सल्टने सम्भावना पनि छ । किनभने, उनी सम्पर्कमा आए ‘हदैसम्म’को छुट दिने योजनामा छ सहकारी । यदि ढकालले सहयोग गरेमा सहकारीले चक्रिय ब्याज पूर्ण रूपमा मिनाहा गर्ने भण्डारी  बताउँछन् । तर, ढकाल सहकारीको सम्पर्कमा नआएकै डेढ वर्ष बितिसकेको छ ।

उनी भन्छन्, “आफैँ संस्थासँग भागीभागी शक्ति केन्द्र धाउने अनि पत्रिकामा नाम निकालेर बदनाम गर्‍यो भन्न कसरी सुहाउँछ ?” तर, गायक ढकाल भने यो आरोप ठाडै अस्विकार  गर्छन् । उनी त सहकारीले आफूलाई अपमान गर्न खोजेको आरोप लगाउँछन् । “एउटा सर्वसाधारण त भागीभागी हिँड्न सक्दैन भने म त सेलिब्रेटी, कसरी सम्भव छ ?” उनको प्रश्न छ । यो विवादले निकै मानसिक तनाव दिएकाले चाँडोभन्दा चाँडो  सल्टाउने पक्षमा छन् उनी । तर, सहकारी ऋण मिनाहा नगर्ने र ढकाल नतिर्ने मुडमै रहेकाले यो विवाद साम्य हुन मुस्किल देखिन्छ ।

Source: NewsFilmy.com