लण्डन । ओलिभर जिरुले उत्कृष्ट गोल गरेपछि चेल्सीले सेमिफाइनलमा साउथह्याम्पटनलाई पराजित गर्दै एफएक कपको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

अब फाइनलमा चेल्सीले युनाइटेडको सामना गर्नेछ । युनाइटेडले टोटनहम हटस्पर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । जिरुले खेलको दोस्रो हाफमा एडिन हर्जाडको पासलाई दुई वटा साउथह्याम्पटनका खेलाडीहरुलाई छलाउँदै गोल गरेका थिए ।

खेलमा १० मिनेट बाँकी छँदा जिरुको स्थानमा मैदानमा छिरेका अल्भारो मोराटाले सिजार एज्पीलिकुएटाको क्रसमा गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरे । साउथह्याम्पटनका लागि नाथान रेडमण्ड र चार्ली अस्टिनले गरेको प्रयास खेर गएको थियो । अब आगामी मे १९ मा दुई टोली वेम्बलीमा भेट्नेछन् ।

सन् २००७ को फाइनलमा जोसे मोरिन्होले चेल्सीलाई युनाइडेडविरुद्ध १–० को जित दिलाएका थिए । गत सिजन चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।